गतवर्ष ९ मे मा नेपालको नवलपरासीमा पहिलो पटक देखा परेको अमेरीकन फौजीकिराको प्रकोप यस वर्षपनि सानै विरुवा अवस्थादेखीनै देखिएको समाचारहरु आउन थालेकाले सो नोक्सानि दोहोरिने निश्चित प्राय छ।

यस फौजीकिराले बिरुवाको पातदेखी मकैको घोँघा सम्मको पनि नाश गर्ने हुनाले नेपालको प्रमुख खाद्यवाली मध्यको एक मकैको उत्पादन हदैसम्म घटाएर नेपालको खाद्य सुरक्षामा गम्भिर चुनौति खडा गर्ने खतरा बढेको छ।
यसैकारण आज हामीले यस फौजीकिराको पहिचान र नियन्त्रण गर्नका निम्ति चाहिने आधारभुत ज्ञान समाहित यस आलेख तयार पारेका छौँ।
अन्य फौजीकिराहरु जस्तै यस अमेरिकन फौजीकिरो पनि ठुलो समुहमा धेरै मात्रामा बालीनाली नष्ट गर्ने गर्छ। पुतलि प्रजातिको यस किटको वैज्ञानिक नाम Spodoptera frugiperda हो। यसको व्यसक भर्सन रातिमा क्रियाशिल हुने गर्दछ। तथापि यसको लार्भाले यसलाई बढ्ता क्षति पुर्याउने गर्छ। यसले मकैको पात, गुभो, जुँगा र घोगा समेत लाई नोक्सान पुर्याउने गर्दछ। यसले मकै मात्रै नभई जुनेलो, धान, गहुँ, कोदो, उखु, बन्दा चुकन्दर, बदाम, भटमास, प्याज, कपास, गोलभेंडा, आलु तथा अन्य ८० देखी 100 प्रजातिका घाँसमा पनि असर पुर्याउने गरेको पाईएको छ ।
यो सर्वप्रथम अमेरिकी महादेशमा पाईए तापनि यसको बयस्क पुतली खाना र बासस्थानको खोजीमा एक दिनमा करिब १ सय किलोमिटर र जीवनमा २ हजार किलोमिटरसम्म उडेर जान सक्ने हुनाले हालका वर्षहरुमा यसले अफ्रिकि र एसियाली महादेशका नेपाल र भारत सहितका विभिन्न देशहरुमा अतिक्रमण गरेको छ। करिब १ वर्ष पहिलेमात्र नेपालमा भित्रिएको भएतापनि ठुलो मात्रामा क्षति पुर्याउने भएका कारण छोटो समयमै किसानहरुको टाउको दुखाईको कारण बन्न पुगेको छ।
अमेरिकन फौजीकिराको पहिचान:

यस किराको बयस्क भर्सन करिब 1.6 cm लामो हुन्छ भने यसको रङ्ग खरानी मा खैरो मिसिएको जस्तो हुन्छ। यसको भाले जातिमा पहिचान त्यसको अगाडिको पखेटामा रहेका सेता धब्बाले गर्न सकिन्छन् भने यसका पोथी जातिमा त्यस्ता धब्बा हुँदैनन्। गर्भाधान पश्चात , पातको तल्लो भागमा करिब 100 देखि 200 सङ्ख्याको समुहमा रहेका अण्डा, यसको पोथीले पार्ने गर्छ। साथसाथै उक्त अण्डा लाई कपास जस्ता तत्वले ढाक्ने गर्दछ। एउटा ब्यस्क पोथीले आफ्नो जीवन कालमा करीब 1000 अण्डा दिने सामर्थ्य राख्दछ। भने यसको औसत जिवन अवधि 10 देखी 21 दिनको हुन्छ।
उक्त अण्डाहरुले दुई देखी पाँच दिन पश्चात सेतो वा हल्का हरियो रंगको लार्भालाई जन्म दिने गर्दछ्।
लार्भा
फौजी किराको लार्भा शुरुको अवस्थामा सेतो वा हल्का हरियो रंगको हुन्छ भने टाउको कालो हुन्छ । हुर्कदै जाँदा लार्भाको शरीर खैरो रंगको हुन्छ भने टाउको गाढा खैरो रंगको हुन्छ । पूर्ण विकसित लार्भा ३ देखि ४ सेन्टिमिटरको हुन्छ । टाउको मा भएको Y आकारको सेतो चिन्हले यसको लार्भाको सहजै पहिचान गर्न सकिन्छ। लार्भाको जीवन १४ देखि २१ दिनको हुन्छ भने लार्भाको जीवन छ चरणमा पुरा हुन्छ। पाँचौ र छैठौँ चरणका लार्भाले धेरै क्षति पुर्याउने हुनाले यस अगावै यसको नियन्त्रण जरुरी हुन्छ।

साथैै टाउकोमा भएको सेतो Y आकारले यसको सहज पहिचान गर्न सकिन्छ।
प्यूपा

यसको प्यूपा मुख्यत: निश्क्रिय रुपमा माटोमुनी बस्ने र केहिपनि नखाने हुनाले त्यति खतरनाक हुँदैनन्। करिब 14 देखी 21 दिन पश्चात शिल्क र माटोका केहि कणको प्रयोग गरेर गाढा खैरो रङ्गको एउटा खुकुलो र गोलो ‘कोकुन’ बनाउछ। यो चरण करिब 9 दिन सम्ममा पुरा हुने गर्दछ भने यसले लामो समयसम्म चिसो वातावरण सहन सक्दैन। यस चरणले ब्यस्क फौजीकिरालाई जन्म दिन्छ।
फौजीकिराले गर्ने क्षति र आक्रमणको पहिचान
अण्डाबाट भर्खर निस्किएको लार्भाले पातको हरियो Epidermal भाग कोतरेर खाने गर्दछ । जसले गर्दा पातहरुमा सेतो धब्बा देखिन्छन् । लार्भाहरु ठूलो हुँदै जाँदा पातहरुमा प्वाल देखिन्छ । पछि गुभोभित्र समेत पसेर खाइदिने हुँदा गुभो खोलेर हेर्दा लार्भा देखिन्छ । यसले मकैको धान जमरामा समेत क्षति गर्ने गरेको पाइएको छ । घोगा लागेपछि घोगा र दानासमेत खाएर उत्पादनमा 70% सम्म ह्रास ल्याउने गर्दछ ।
फौजीकिराको ब्यवस्थापनका ऊपायहरु:
फौजीकिराको पछिल्ला तहका लार्भाले बढि क्षति गर्ने हुनाले सुरुवाति चरणमा नै निम्न उपायहरु प्रयोग गरेर केहि हद सम्म नियन्त्रण गर्न सकिन्छ। जैविक तत्वहरु द्वारा सिर्जीत समस्याहरुलाई जैविक विधिबाट नै समाधान गर्नु सबैभन्दा उचित हुन्छ। त्यसैले हामिले यहाँ दिईएका समाधानका ऊपाय मध्य धेरैजसो जैविक विधि केन्द्रित छन् भने विकल्पका रुपमा रसायनिक विधिहरु पनि उल्लेख गरिएको छ । र यहाँहरुलाई पनि जैविक विधि प्रयोग गर्न आहवान गर्दै रसायनिक विधिको प्रयोग गर्न निरुत्साहन गर्दछौँ। साथै यस अमेरिकी फौजीकिरो तुलनात्मक रुपमा किटनाशक रशायन प्रतिरोधक रहेकाले जैविक विधीनै सबैभन्दा उपयूक्त हुन्छ।
- पुस-पुल रणनितिको प्रयोग: एकिकृत किट व्यवस्थापन प्रणालीमा सबैभन्दा उत्तम उपायमध्य पुस-पुल विधि पनि एक हो। यस विधि अन्तर्गत मकैमा अमेरिकी फौजीकिराको नियन्त्रण गर्नका निम्ति मकैलाई डेस्मोडियम घाँससंगै लगाउन सकिन्छ। यो घाँस कीरालाई मन नपर्ने हुनाले मकैको बीचबीचमा यो घाँस लगाएर कीरालाई धपाउने अनि छेउछेउमा कीरालाई मन पर्ने नेपियर घाँस लगाएर कीरालाई आकर्षित गर्ने आकर्षित भएका किरालाई विषादी प्रयोग गरी मार्न सकिन्छ ।

- स्याम्पलिङ्ग : ब्याकलाईट ट्रयाप र फेरोमोन ट्रयापहरु राखेर पनि केहि हद सम्म यसलाई नियन्त्रण गर्न सकिन्छ।
- सुरुको अवस्थामा र सानो क्षेत्रको उत्पादनमा हातैले अण्डाहरु संकलन गरेर तातो पानीमा डुबाई नष्ट गर्न पनि सकिन्छ ।
- मकैसंगै कोसेबालीहरु पनि अन्तरबालीका रूपमा लगाउँदा कीराको प्रकोप कम गर्न सकिन्छ भने अर्कोतर्फ त्यसले माटोमा उचित मात्रामा नाईट्रोजन बढाउन पनि मद्दत गर्दछ।
- चाँडै रोपेर चाँडैनै उत्पादन भित्राउन सकिने प्रजातिका मकैहरु लगाउन सकिन्छ।
- घरेलु ऊपायहरु जस्तै- गुभोमा मसिनो माटो वा खरानी राखने,हरियो खुर्सानी गाईको गहुँतमा पकाएर १ : १० को अनुपातमा पानी मिसाएर गुभोमा राख्ने अनि निम जस्ता किटनाशक क्षमता भएका जैविक वस्तुहरु पनि प्रयोग गर्न सकिन्छ।
- अण्डाको परजीवी किरा ट्राइकोग्रामा वा टेलिनोमस नामक बारुलाहरु छोडेर पनि नियन्त्रण गर्न सकिन्छ ।
- जैविक विषादीको हकमा ब्यासिलस थ्रुन्जेनसीस ब्याक्टेरियामा आधारित विषादी जस्तै महाशक्ति, डाइपेल २ मिलिलिटर वा २ ग्राम प्रतिलिटर पानीमा राखेर छर्न सकिन्छ ।
वा रासायनिक विषादीहरु छर्नै परेमा,
- मकैको पातमा सेता लाम्चा झिल्लीसहितका प्वाल अवस्थाको क्षतिको लक्षण देखा परेमा नीमजन्य विषादी एजाडिराक्टिन १५०० पीपीएम ५ मिलिलिटर प्रतिलिटर पानीमा मिसाएर छर्न सकिन्छ ।
- मकैको पातमा प्वाल परेको तथा गुभोमा क्षतिको लक्षण देखा परेमा इमामेक्टिन बेन्जोएट ५ प्रतिशत एसजी ०.४ ग्राम प्रतिलिटर पानीमा मिसाएर छर्न सकिन्छ ।
- अन्य रसायानिक विषादिमा स्पाईनटोराम र स्पाईनोसढ पनि प्रयोग गर्न सकिन्छ।
ध्यान दिनुपर्ने कुरा:
लार्भाहरु गुभो वा घोँघा भित्र पस्नु अगावै माथि उल्लेखित उपायहरु प्रयोग गरिसक्नु पर्ने छ।
